Skip

Hamro Sanchar

देशभर झण्डै ७० प्रतिशत धान रोपियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २ गते


२ साउन, काठमाडौं । यस वर्षको साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ भएको छ ।

कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर धान खेती योग्य जमिनमध्ये हालसम्म ९ लाख ५८ हजार ५ सय ७४ हेक्टरमा रोपाइँ सकिएको हो ।

यद्यपि, गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको छ । गत वर्षको साउन ४ गतेसम्म देशभर ७२।१४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उत्साहजनक रूपमा रोपाइँ भइरहेको देखिएको छ, जहाँ कुल क्षेत्रफलको ९०.६७ प्रतिशतमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

लुम्बिनी प्रदेशमा पनि ८०.६५ प्रतिशत रोपाइँ सकिएको छ भने गण्डकी, बाग्मती र कर्णाली प्रदेशमा क्रमशः ७८.३६ प्रतिशत, ७७।३३ प्रतिशत र ७७।०५ प्रतिशत रोपाइँ भएको छ । यी प्रदेशहरूमा औसतभन्दा माथि रोपाइँ भएको देखिन्छ ।

यसको विपरीत, तराईका मुख्य धान उत्पादन हुने क्षेत्र मानिने मधेश र कोशी प्रदेशमा भने रोपाइँको गति तुलनात्मक रूपमा न्यून देखिएको छ । देशभरमै सबैभन्दा धेरै ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर धान खेती हुने क्षेत्रफल रहेको मधेश प्रदेशमा हालसम्म ५७.९३ प्रतिशत मात्र रोपाइँ भएको छ ।

त्यस्तै, कोशी प्रदेशमा ५४.८६ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ, जुन सबै प्रदेशहरूमध्ये सबैभन्दा कम हो । असार मसान्तसम्मको तथ्याङ्क अनुसार मनसुनको प्रभाव र सिँचाइको उपलब्धताका आधारमा विभिन्न प्रदेशहरूमा रोपाइँको दर फरक–फरक देखिएको विभागले जनाएको छ ।


प्रतिकृया दिनुहोस्