Skip

Hamro Sanchar

असार सकिनै लाग्दा देशभर ५० प्रतिशत मात्र रोपाइँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३१ गते


३१ असार, ललितपुर । देशभर करिब ५० प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष ५० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको जानकारी दिए ।

प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव नौ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७ दशमलव एक प्रतिशत रोपाइँ भएको छ । कोशीमा ३२ प्रतिशत र मधेशमा ३२ दशमलव सात प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ ।

देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ अझ बढ्ने विभागको अपेक्षा छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझै तीव्र हुने विभागले जनाएको छ ।


प्रतिकृया दिनुहोस्