Skip

Hamro Sanchar

हर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


Advertisement

३० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटमा इरानविरुद्ध पुनः नाकाबन्दी लागू गर्ने घोषणा गर्दै उक्त जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाउने निर्णय सार्वजनिक गरेका छन्।

यस घोषणापछि इरानले अमेरिकालाई हर्मुज स्ट्रेटको व्यवस्थापन वा नियन्त्रणमा हस्तक्षेप गर्न नदिने चेतावनी दिएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत हर्मुज स्ट्रेट खुला रहने तर इरान र उसका ग्राहकसँग सम्बन्धित जहाजमाथि मात्रै नाकाबन्दी लागू गरिने बताएका छन्। उनका अनुसार अन्य सबै देशका जहाजले भने निष्पक्ष र अवरोधरहित रूपमा यो जलमार्ग प्रयोग गर्न पाउनेछन्।

उनले संयुक्त राज्य अमेरिकाले अबदेखि आफूलाई “हर्मुज स्ट्रेटको संरक्षक”को भूमिकामा राख्ने उल्लेख गर्दै समुद्री मार्गको सुरक्षा व्यवस्थापनमा लाग्ने खर्च जुटाउन हर्मुज प्रयोग गर्ने प्रत्येक मालवाहक जहाजबाट २० प्रतिशत शुल्क लिने व्यवस्था तत्काल लागू गर्ने जानकारी दिएका छन्।

अमेरिकी सेनाका अनुसार ट्रम्पको आदेश कार्यान्वयन गर्दै मंगलबार राति ८ बजेदेखि इरानी बन्दरगाहसँग सम्बन्धित नाकाबन्दी पुनः लागू गरिनेछ।

यता इरानको शीर्ष सैन्य मुख्यालय खातम अल(अन्बियाले विज्ञप्ति जारी गर्दै अमेरिकाको गतिविधिले हर्मुज स्ट्रेट र समग्र क्षेत्रीय सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको आरोप लगाएको छ।

विज्ञप्तिमा इरानले हर्मुज स्ट्रेटको नियन्त्रण वा व्यवस्थापनमा अमेरिकालाई कुनै पनि प्रकारको हस्तक्षेप गर्न नदिने स्पष्ट चेतावनी दिँदै यसका लागि हुने कुनै पनि सहयोगलाई इरानको सार्वभौमसत्ताविरुद्धको कदमका रूपमा लिइने उल्लेख गरेको छ।

इरानी सेनाले द्वन्द्व थप चर्किए त्यसको असर सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चेतावनीसमेत दिएको छ ।


प्रतिकृया दिनुहोस्