
२३ असार, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले १११ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२६ को इद अल–अधाको अवसरमा उनीहरूलाई यूएई सरकारले आममाफी दिने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै १११ जना नेपालीको कैद माफ गरेकोमा कृतज्ञता प्रकट गरेको छ ।
यूएई सरकारको यस कदमले नेपाल र यूएईबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको प्रगाढ मित्रता र सौहार्दता प्रकट गर्ने परराष्ट्रले जनाएको छ ।
यूएईको अबुधाबीस्थित नेपाली दूतावासको अनुरोध अनुसार यूएई सरकारले नेपाली कैदीलाई आममाफी दिएको हो ।
अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको खण्डमा माफी पाएका नेपाली नागरिक यूएईको प्रचलित कानुन बमोजिम आवश्यक कानुनी र प्रशासनिक प्रक्रियाहरू पूरा गरी नेपाल फर्कने परराष्ट्रले जनाएको छ ।






























