
१२ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही १६ असारमा हुने भएको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही १० असारमा अदालतमा रिट निवेदन दिएकी थिइन् ।
उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले १५ असारमा महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र १६ असारमा सुनुवाइ गर्ने आदेश दिएको हो ।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही ८ असारमा सुर्खेतबाट पक्राउ गरी यही ९ असारमा विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।
विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।





























