
११ असारर काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाइएको बताएका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ दशमलव ६३ अमेरिकी डलरबाट घटेर ६९ दशमलव २१ डलरमा पुगेको भए पनि नेपाली उपभोक्ताले अझै पनि महँगो दरमै इन्धन किन्न बाध्य हुनु दुखद भएको बताएका हुन्।
उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउनुपर्ने भए पनि मूल्य किन नघटेको भन्ने प्रश्नमा नेपाल आयल निगमले ‘कच्चा तेल होइन, प्रशोधित तेल खरिद गर्ने भएकाले तत्काल प्रभाव नपर्ने’ लगायतका तर्क दिँदै आएको बताएका छन्।
पौडेलले कच्चा र प्रशोधित तेलको मूल्यबीच प्रशोधन खर्च तथा केही समयको अन्तर रहने भए पनि कच्चा तेलमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागतसमेत घट्ने बताए। उनले लामो समय बितिसक्दा पनि वास्तविक अवस्था सार्वजनिक नगरी पुरानै प्राविधिक कारण देखाएर मूल्य नघटाउँदा उपभोक्ता मारमा परेको बताए।
साथै यसले गर्दा नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको उनको भनाइ छ।
नेपाल आयल निगमको पछिल्लो निर्णयअनुसार पेट्रोल र डिजेलको खुद्रा मूल्य पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल प्रतिलिटर २२५ रुपैयाँ कायम छ।





























