
११ असार, काठमाडौं । भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ ।
ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको सीएनएनले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार बुधबार राति १०ः०४ जीएमटीमा काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा पर्ने सान फेलिपनजिक ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसको केही समयपछि राजधानीबाट करिब २९३ किलोमिटर पश्चिममा रहेको युमारेनजिक ७।५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।
यूएसजीएसले प्रारम्भिक मूल्यांकनका आधारमा यी भूकम्पका कारण ठूलो मानवीय क्षति र व्यापक भौतिक विनाश हुन सक्ने सम्भावना उच्च रहेको जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको मूल्यांकन कार्य जारी रहेकाले वास्तविक क्षतिको विवरण आउन अझै केही समय लाग्न सक्ने बताइएको छ ।
७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प भेनेजुएलाको उत्तरी तटीय क्षेत्रनजिकै गएको हो । यसका कारण राजधानी काराकासका केही भवनहरू भत्किएका छन् । यो भूकम्प देशका केही ठूला रिफाइनरीहरू रहेको क्षेत्र मोन्टाल्बानबाट उत्तर–पश्चिममा करिब २८ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर गएको हो ।
त्रसित बनेका बासिन्दाहरू आफ्ना परिवारका सदस्य तथा घरपालुवा जनावरसहित भवनबाट बाहिर निस्केर सडकमा भेला भएका छन् ।
पोर्टो रिको र भर्जिन आइल्यान्डका लागि यसअघि जारी गरिएको सुनामी चेतावनी भने पछि रद्द गरिएको छ ।
भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले भूकम्पको धक्का अन्य राज्यमा पनि महसुस गरिएको र काराकासको एक क्षेत्रमा चिन्ताजनक अवस्था रहेको बताएका छन् ।
काबेलाले एसोसिएटेड प्रेस (एपी)लाई दिएको जानकारीअनुसार काराकासको अल्टामिरा क्षेत्रमा घर तथा भवनहरूमा क्षति पुगेको छ । मानिसहरू घाइते भएको संकेत गर्दै उनले सवारी चालकहरूलाई एम्बुलेन्स तथा अन्य आपतकालीन सवारी साधनलाई प्राथमिकता दिँदै बाटो छाड्न आग्रह गरेको एपीले जनाएको छ ।






























