
१० असार, काठमाडौं । निर्वाचनका बेला मितव्ययिता र सुशासनको चर्को नारा लगाएर जनताको मत तान्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा पुग्नेबित्तिकै सल्लाहकार र व्यक्तिगत सहायक (पीए)हरूको भद्दा फौज खडा गरेको भन्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गम्भीर प्रश्न उठाएका छन्।
उनले रास्वपाको यो व्यवहारलाई जनताको भरोसामाथिको भद्दा मजाकको संज्ञा दिएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले सरकारले मन्त्रीहरूका लागि ५७ जनासम्म सल्लाहकार नियुक्त गर्न पाउने गरी गरेको निर्णयको कडा आलोचना गरेका हुन्।
उनले राज्यकोषको दोहन रोक्ने र राज्यका निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने वाचा गरेकाहरू नै आज हरेक मन्त्रालयमा समानान्तर शक्तिकेन्द्रु खडा गर्न आफ्ना कार्यकर्ताको भर्तीमा व्यस्त रहेको आरोप लगाएका छन् ।
पोखरेलले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “निर्वाचनका बेला मितव्ययिता र सुशासनको चर्को नारा लगाएर जनताको मत तान्न सफल भएका नयाँ भनिनेहरूले सत्तामा पुग्नेबित्तिकै सल्लाहकार र पीए (व्यक्तिगत सहायक) हरूको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ !”
उनले थप प्रश्न गर्दै भनेका छन्, परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गर्ने आम मतदाताले उनीहरूको यो व्यवहारबाट आज कस्तो महसुस गरिरहेका होलान्र आम जनताको भरोसामाथिको योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन सक्दछ।
सरकारले हालै १७ जना मन्त्रीले ५७ जनासम्म सल्लाहकार नियुक्त गर्न सक्ने निर्णय गरेको थियो। यो निर्णय सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ।
खर्च घटाउने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाएको सरकारले सचिवसरह सेवा सुविधा दिएर सल्लाहकार नियुक्त गर्न सकिने निर्णय गरेपछि आलोचनाको घेरामा परेको हो ।
पोखरेलले सरकारलाई चुनावका समयमा गरेका आफ्ना वाचाहरूमा फर्कन र स्वेच्छाचारी व्यवहारबाट जनतालाई निराश नबनाउन आग्रह गरेका छन् ।






























