
१० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा आफूले व्यक्त गरेका विचारहरूप्रति आएका विभिन्न प्रतिक्रियाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमार्फत चिन्ता र चासो राख्ने सबैप्रति आभार व्यक्त गर्दै नयाँ राजनीतिक शक्तिहरूप्रति आफ्नो विशेष लगाव र दायित्व हुनु स्वाभाविक भएको स्पष्ट पारेका छन्।
डा.भट्टराईले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नयाँ युगको नयाँ कार्यभार सम्पन्न गर्न नयाँ अग्रगामी विचारसहितको वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको ठहर गर्दै आफ्नै रगतपसिनाले बनाएको पार्टी परित्याग गरी नयाँ अभियानमा होमिएको स्मरण गराएका छन्।
यसै सन्दर्भमा, चमत्कारिक ढंगले देशको प्रमुख शक्तिको रूपमा उदाएको रास्वपालाई आफूले जाने बुझेसम्मका सल्लाह-सुझाव दिएर सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको उनको भनाइ छ।
उनले आफ्नो कुरा सुन्नु वा नसुन्नु रास्वपाको स्वेच्छा र अधिकार भएको र यसमा कसैले टाउको दुखाइरहनु आवश्यक नरहेको पनि उल्लेख गरेका छन्।
भट्टराईले जेनजी विद्रोह र पछिल्लो आमनिर्वाचनपछि नेपाली राजनीतिमा ऐतिहासिक पुस्तान्तरण भएको विश्लेषण गरेका छन्।
उनले आफ्नो देशमा रोजगारी नपाएर संसारका १७० भन्दा बढी देशमा छरिन बाध्य युवाहरू र देशभित्र रहेका तिनका आफन्तहरूले पुराना राजनीतिक शक्तिहरूविरुद्ध सामूहिक आक्रोश व्यक्त गरेको र नयाँप्रति आशाको नजरले हेरेको बताएका छन्।
पुराना पतनशील शक्तिहरूले यस यथार्थलाई नबुझेर वा बुझ पचाएर नाना थरिका षड्यन्त्रका कथा बुनेर आत्मरति गर्नु उनीहरूको नैसर्गिक चरित्र भएको भट्टराईको आरोप छ।
उनले आफ्ना सन्तानको पालनपोषण गर्न नसक्ने नालायकहरूलाई छिमेकी र परचक्रीहरूले हेप्ने कुरा अकबर-बिरबलको कथा मार्फत स्मरण गराएको पनि उल्लेख गरेका छन्।
नयाँ युवा नेतृत्व र चुनौतीसत्तासीन नयाँ युवाहरूले एकैचोटि सबै राम्रै मात्र गर्लान् भन्न नसकिने यथार्थलाई पनि भट्टराईले स्वीकार गरेका छन्।
उनले जटिल भूराजनीति, जर्जर अर्थतन्त्र, मक्किएको राज्य-प्रणाली एकातिर र अर्कोतिर जनताको असीमित आवश्यकता र चाहनाबीचको अन्तरविरोध हल गर्नु त्यति सहज नहुने बताएका छन्।
यस क्रममा गल्ती-कमजोरीहरू हुने सम्भावना रहेको उनको भनाइ छ।
यद्यपि, उनले एकैचोटि मुसोलिनी र हिटलरको उदय हुनेछ भनेर आतंकित हुन वा पार्न आवश्यक नरहेकोमा जोड दिदै तेसाे भएमा आफू चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन्।
यदि त्यस्तो अवस्था आएमा, भारत (२०३६ साल), राजा (२०४३, २०४५ साल), कांग्रेस (२०५० साल), एमाले (२०५१ सालको भित्तेकाण्डु) र प्रचण्ड माओवादी (२०७४ साल) सबैको दमन र जेल-थुना भोगेको सम्भवतः एकमात्र जीवित पात्रको रूपमा आफू आजीवन सत्य र न्यायको लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।






























