Skip

Hamro Sanchar

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २२ गते


२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न आह्वान गरेका छन् ।

“विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु,”राष्ट्रपति पौडेलले भनेका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमताको विकासमा जोड दिएका छन् ।

उनले प्राकृतिक सम्पदाको संरक्षणमार्फत हामी भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने बताएका छन् ।

उनले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले विश्वसमुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै जलवायु परिवर्तन भविष्यका लागि खतरामात्र नरहेर वर्तमान समयमा नै यसको प्रभाव देख्न सकिने प्रस्ट पारेका छन् ।


प्रतिकृया दिनुहोस्