
११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् ।
रास्वपाका एक पदाधिकारीले लामिछानेको यस भ्रमण निश्चित भएको पुष्टि गरेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतले भने लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भएर जेठ २० गते सम्पन्न हुने बताएको छ।
भ्रमणको आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको रास्वपाका ती नेताले बताए ।
फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुनलागेको यो पहिलो विदेश भ्रमण हो ।
यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बालेनलाई बधाई दिँदै भारतको भ्रमणको निम्तो दिएका थिए ।
तर, प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन । उनीअगावै रास्वपा सभापति लामिछानेको तयको भारत भ्रमणलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।



























