Skip

Hamro Sanchar

डाँछी–भद्रवास खानेपानी आयोजना उद्घाटन, ५ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने

वाचा पूरा नभए भोट माग्न आउँदिनँ- नगरप्रमुख कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ९ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित डाँछी–भद्रवास क्षेत्रमा निर्माण सम्पन्न भएको “डाँछी–भद्रवास शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना” सञ्चालनमा आएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत निर्माण गरिएको उक्त आयोजनाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरेका हुन्।

यस आयोजनाबाट नगरपालिकाका वडा नम्बर ३/४ र ५ का ४ हजार ८ सय ७७ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। स्वच्छ खानेपानीको पहुँच विस्तारसँगै स्थानीय बासिन्दाको जीवनस्तर सुधार हुने तथा सरसफाइ व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। अहिले टेस्टिङ पिरियडमा रहेको उक्त आयोजनाबाट अबको ३ महिनाभित्र नगरवासीका घर–घरमा स्वच्छ खानेपानी वितरण सुरु गरिने जनाइएको छ।

आयोजनाअन्तर्गत ५ वटा डिप बोरिङ, २ वटा सार्वजनिक शौचालय, १ वटा बुस्टी पम्प हाउस, ३ वटा प्रेसर फिल्टर, १ वटा पानी परीक्षण प्रयोगशाला, ३ वटा गार्ड घर, ३ वटा पानी ट्यांकी तथा करिब १८२ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। आयोजनाको कुल लागत करिब रु. ३५ करोड ३७ लाख ४० हजार १ सय ११ रुपैयाँ ७८ पैसा रहेको जनाइएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले आफूले निर्वाचनताका स्थानीयवासीसँग गरेको प्रतिबद्धता क्रमशः पूरा हुँदै गएको बताएका छन्। उनले आफ्नो कार्यकालभित्र कागेश्वरी मनोहरा नगरपालिकाका सबै नागरिकको घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यका साथ नगरपालिका तीव्र रूपमा अघि बढिरहेको बताए।

नगर प्रमुख कार्कीले भने, “निर्वाचनका बेला मैले नगरवासीसँग घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउने प्रतिबद्धता गरेको थिएँ। आज डाँछी–भद्रवास आयोजना सम्पन्न भएसँगै त्यो वाचा पूरा हुने दिशामा महत्वपूर्ण सफलता हासिल भएको छ। अब नगरबासीले खानेपानीको अभाव झेल्नुपर्ने अवस्था अन्त्य हुँदैछ।”

उनले नगरपालिकाभित्र हाल डाँछी–भद्रवास खानेपानी आयोजना, मुलपानी खानेपानी आयोजना, गोठाटार भैमाल खानेपानी आयोजना, काँडाघारी खानेपानी आयोजना लगायतका ठूला खानेपानी योजनाहरू कार्यान्वयन भइरहेको जानकारी दिए। ती योजनामार्फत नगरका विभिन्न वडामा दीर्घकालीन रूपमा स्वच्छ खानेपानी सेवा विस्तार गरिने उनले बताए।

नगर प्रमुख कार्कीले आफ्नो कार्यकाल अझै ११ महिना बाँकी रहेको उल्लेख गर्दै सो अवधिभित्र नगरवासीका घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउन नसके आगामी निर्वाचनमा भोट माग्न आउँदा टाढैबाट बिदाइ गरिदिन समेत आग्रह गरे। उनको उक्त अभिव्यक्तिलाई कार्यक्रममा सहभागी स्थानीयवासीले उत्साहका साथ स्वागत गरेका थिए।

आयोजनामा खानेपानी तथा ढल व्यवस्थापन विभाग, निर्माण व्यवसायी सगरमाथा कायदे जेभी, कागेश्वरी मनोहरा नगरपालिका, नगर विकास कोष तथा एसियाली विकास बैंकको सहकार्य रहेको छ भने परामर्शदाताको रूपमा बिल्डिङ डिजाइन अथोरिटी प्रालिले प्राविधिक सेवा प्रदान गरेको थियो।

स्थानीयवासीले आयोजना सम्पन्न भएसँगै खानेपानीको दीर्घकालीन समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनमा पनि आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यस्ता योजनालाई निरन्तरता दिने जनाएको छ।


प्रतिकृया दिनुहोस्