
२५ बैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भू–भाग भएको विषयमा नेपाल सरकार स्पष्ट र अडिग रहेको जनाएको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे नेपालले दुवै देशलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा पुनः अवगत गराइसकेको जानकारी दिए ।
उनका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग हुन् भन्ने विषयमा नेपाल सरकार पूर्ण रूपमा स्पष्ट छ ।
प्रवक्ता पौडेलले उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार तथा तीर्थयात्राजस्ता गतिविधि नगर्न नेपालले भारत सरकारलाई निरन्तर आग्रह गर्दै आएको बताए ।
‘लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेको कुरा कूटनीतिक नोटमार्फत स्पष्ट पारेका छौँ,’ उनले भने ।
उनले नेपाली भूमि हुँदै आवतजावत गर्ने विषयमा नेपालले भारत र चीन दुवै पक्षसमक्ष आफ्नो स्पष्ट अडान र सरोकार राखिसकेको बताए ।













