
२२ बैशाख, काठमाडौं । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालका अनुसार पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको हो ।
पत्र ढिलो प्राप्त भएकाले औपचारिक विज्ञप्ति भने पछि सार्वजनिक गरिने उनले जानकारी दिए ।
मधेश प्रदेशसभामा जनमत पार्टीका १२ जना सदस्य रहेका छन् । हाल उक्त पार्टी अर्थ मन्त्रालयसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी छ । पार्टीबाट महेश यादव अर्थमन्त्री तथा वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा छन् ।
प्रमुख सचेतक चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएको पुष्टि गरेका छन् । तर, संसदीय दलका नेता तथा अर्थमन्त्री महेश यादवले भने यस विषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । सचेतक सिंहले पार्टी अध्यक्ष डा.सीके राउतसँग सल्लाह गरी समर्थन फिर्ता लिएको दाबी गरे ।












