
२९ चैत, पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए ।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थपिएको थियो ।
उनी पक्राउ परेसँगै प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आलोचना गर्नेहरूले बालेनका पुराना फेसबुक स्टेटस तथा भिडियोहरू सेयर गरिरहेका छन् ।














