
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले आफ्ना स्वकीय सचिवलाई सरकारी नियुक्ति दिएपछि यतिबेला चौतर्फि आलोचना भएको छ ।
यसैक्रममा पुर्व शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले पनि प्रधानमन्त्रीको यो निर्णयको बिरोध जनाएका छन् ।
पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिवको नियुक्तिलाई शतप्रतिशत गलतको संज्ञा दिएका छन्। प्रधानमन्त्रीले आइतबार स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गरेपछि पुनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
सांसद पुनले प्रधानमन्त्रीको यो कदमको विरोध गर्दै नियुक्त श्रेष्ठलाई उक्त पद नलिन समेत आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलिनु । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देऊ।’
नेपालका पुराना राजनीतिक दलहरू नातावाद, चाकरीबाज र कृपावादकै कारण समाप्त भएको उल्लेख गर्दै पुनले नयाँ दलहरूलाई समेत सचेत गराएका छन् । ‘यही पाराले काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्। होसियार गर्ने म छु,’ उनले लेखेका छन्। यो नियुक्तिबारे अब आउने सरकारले बुद्धि पुर्याएर निर्णय गर्नुपर्ने उनको धारणा छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ आगामी ५ वर्षका लागि मनोनयन भएका छन् । कोषको संरक्षक समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई सो पदमा नियुक्त गरेकी हुन् । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा सिन्धुलीका श्रेष्ठलाई ल्याइएको हो ।















