
काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले गरेका राम्रा कामहरू र महत्वपूर्ण राजनीतिक घटनाक्रमबारे जनतालाई सही ढंगले बुझाउन नसक्दा पार्टीले अहिलेको परिणाम भोग्नुपरेको बताएका छन्।
आज पार्टीको सचिवालय बैठकमा सहभागी हुन भक्तपुरको गुण्डु पुगेका भट्टले पत्रकारहरूसँग कुराकानी क्रममा गत भदौ २३ र २४ गतेका घटनाक्रमलाई जनतासमक्ष सही रूपमा संप्रेषण गर्न नसक्नु पार्टीको मुख्य कमजोरी रहेको बताएका हुन्।
‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्याउन सकेनौं। भदौ २३ र २४ को घटनालाई पनि ठीक ढङ्गले जनतासमक्ष संप्रेषण गर्न सकेनौं। त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौं र यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ,’उनले भने।
उपमहासचिव भट्टले पार्टीको समग्र समीक्षापछि मात्रै आधिकारिक निष्कर्ष निस्कने भए पनि आफूले देखेका कमजोरीहरू पार्टी कमिटीमै राख्ने बताए।
उनले ती घटनाक्रमहरू कसरी भए, त्यसमा पार्टी र नेतृत्वको भुमिका के थियो भन्ने यथार्थ कुरा जनतामाझ पुग्न नसक्दा पर्दा पछाडिका खेलहरूले प्रश्रय पाएको र त्यसले एमाले र यसको नेतृत्वमाथि सुनियोजित रूपमा आक्रमण भएको बताए।
जनतामाझ एउटा गलत भाष्य खडा गरियो । त्यही भ्रम र गलत भाष्यका कारण जनमत एमालेको विपरीत गयो, उनले भने।














