
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले कम्युनिस्ट आन्दोलन सुधार नगरे आगामी दिनमा अझ ठूलो संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ५ वर्षअघि आफूले नेकपाको ‘क्लाइमेक्स र कोल्याप्स’को समय भएको बताएका थिए।
त्यसबेला वामपन्थी पार्टीहरू एकीकृत हुँदा जनतामा अभूतपूर्व उत्साह देखिएको तर विचार, संगठन र व्यवहार दुई नेताको अधीनमा रहेकाले एकताको आधार कमजोर भएको उनको टिप्पणी छ।
उनले कम्युनिस्ट आन्दोलनले अन्तर्राष्ट्रिय अनुभवबाट पर्याप्त शिक्षा लिन नसकेको पनि बताएका छन्। सोभियत संघबाट पाठ नसिकिएको र चिनियाँ मोडेलको नक्कल गर्दा पनि सफलता नपाएको उनको भनाइ छ।
उनका अनुसार कम्युनिस्ट आन्दोलन पूर्ण रूपमा समाप्त भइसकेको भने छैन, तर आवश्यक सुधार नगरे भविष्यमा झन् कमजोर हुने खतरा रहेको संकेत गरेका छन्।
बास्कोटाले कम्युनिस्ट आन्दोलनलाई समयमै सच्याउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसतर्फ ध्यान नदिए अर्को चरणमा आन्दोलन नै समाप्त हुन सक्ने चेतावनी दिएका छन्।














