
काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व)मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एसियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव राईले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पारे ।
सचिव राईका अनुसार, परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ ।
सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बैठकले गरेका निर्णयहरू कार्यक्षेत्रमा रहेका नेपाली नियोगहरूमार्फत निरन्तर कार्यान्वयन भइरहेको उनले जानकारी दिए ।
अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार तत्कालै हाम्रा नेपाली नागरिकहरूलाई सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन
त्यसैले नेपालमा रहनुभएका उहाँहरूका परिवारजन र पश्चिम एसियामा बस्ने नेपालीहरूलाई विचलित र चिन्तित नहुन म हार्दिक आग्रह गर्दछु, उनले भने ।
नेपालले अन्य श्रम गन्तव्य मुलुकहरूसँग पनि समन्वय गरिरहेको जानकारी दिए ।
भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका धेरै श्रमिक पठाउने देशका दूतावास र मिसनहरूसँग नेपाली राजदूत र कन्सुल जनरलहरूले दैनिक रूपमा समन्वय गरिरहेको सचिव राईले बताए ।













