
काठमाडौं । गण्डकीका पूर्वसांसद राजीव गुरुङ उर्फ दिपक मनाङे रिहा भएका छन् । ज्यान मार्ने उद्योगमा जेल परेका उनी सजाय भुक्तान गरेर बुधबार छुटेका हुन् ।
डिल्लीबजार कारागार प्रशासनका अनुसार मनाङ केही बेरअघि आवश्यक प्रक्रिया पूरा गरी छुटेका छन् ।
गुन्डा नाइके चक्रे मिलनलाई २०६१ वैशाखमा महाराजगञ्जमा खुकुरी प्रहार गरेको अभियोगमा उनीमाथि ५ वर्षको जेल सजाइ सुनाइएको थियो । बाँकी रहेको सजाय भुक्तान गरी उनी जेलबाट निस्किएका हुन् ।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे निर्विरोध निर्वाचित भएका थिए ।
तर, उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा चलिरहेको थियो । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो, जस विरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
ज्यान मार्ने उद्योग मुद्दामा अन्तिम फैसलाबाट दोषी ठहर भएसँगै उनी सांसद पदमा रहिरहन अयोग्य भएका थिए । सँगै ६ वर्षका लागि उम्मेदवार हुन पनि अयोग्य ठहर्याइएको थियो ।













