Skip

Hamro Sanchar

प्रहरीको अनुरोध : वायु प्रदूषणबाट सावधानी अपनाउनु, अनाबस्यक घरबाहिर नजानु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २७ गते


काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरीले नागकिरमा ६ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहोर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ ।

विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ ।

श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए ।

मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध पनि गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्