
काठमाडौं । नेपाली कांग्रेसका नेता गोमालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि नेतृत्वबाट पछि नहट्न आग्रह गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक पत्र लेख्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम पार्टीको अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य कांग्रेसको मुख्य प्राथमिकता भएको बताएका हुन्। उनले देश पुनः लयमा फर्कन थालेको उल्लेख गर्दै त्यस यात्रामा थापाको नेतृत्वले आशा र दिशानिर्देश दिएको बताए।
श्रेष्ठका अनुसार निर्वाचन परिणामले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने र संगठनात्मक रूपान्तरण गर्ने स्पष्ट सन्देश दिएको छ। उनले यो केवल नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुसार कांग्रेसलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनी पनि भएको बताएका छन्।
पत्रमा उनले वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। श्रेष्ठले कठिन घडीमा राजीनामा गर्नु पार्टी र देश दुवैका लागि हितकर नहुने उल्लेख गर्दै सबै कांग्रेसीजन एकढिक्का भएर थापालाई साथ दिनुपर्ने बताएका छन्। उनले थापाको नेतृत्वमा कांग्रेसले नयाँ ऊर्जा, नयाँ आशा र रूपान्तरणको बाटो देखिरहेको पनि उल्लेख गरेका छन्।
पत्रको अन्त्यमा श्रेष्ठले संकटको घडीमा थापाप्रति पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै सबै मिलेर नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तो छ गोपालमानको पत्र
सम्पन्न संघीय संसद्को निर्वाचनको परिणाम हाम्रो अपेक्षाअनुसार आउन सकेन। तर, हाम्रो लागि निर्वाचनको नतिजाभन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्व राख्छ। देश फेरि लयमा फर्कन थालेको छ र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ।
यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने र संगठनात्मक रूपान्तरण गर्ने गहिरो सन्देश दिएको छ। यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको चेतावनी पनि हो। अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ।
गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौं।
यस संकटको घडीमा तपाईंलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं।
जय नेपाल। गोपालमान श्रेष्ठ, नेता, नेपाली कांग्रेस













