
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने बताएका छन्।
मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठी कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले फागुन २१ गते चुनाव भएको अवस्थामा कांग्रेस र एमाले मिलेर जानुपर्ने बताएका हुन्।
विगतका समयमा लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमालेले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेसले लड्दै आएको बताउँदै अहिलेको विषय परिस्थितिमा पनि दुई शक्तिहरूले रणनीति बनाउनुपर्ने बताएका हुन्।
यसका लागि दुई बाटो रहेको पनि उपाध्यक्ष थापाले बताए । कि नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चश्व स्थापित गर्ने वा दुई शक्तिको वर्चश्व रहेको पुरानै संसद पुनर्स्थापना गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौं,उनले भने।
अदालत र सडकबाट पुरानो संसद पुनर्स्थापनाका लागि फागुन २१ गतेसम्मको समय रहेको उनले बताए।दुइटा बाटो हाम्रो अगाडि छ। यसबाट अगाडि बढ्न हामीले रणनीति तयार गर्न जरूरी छ, उनल भने।
चुनाव भएको खण्डमा नयाँ संसदमा पनि वामपन्थी शक्ति र लोकतन्त्रवादी शक्तिले डिप स्टेटु वादीलाई परास्त गर्न रणनीति बनाउनुपर्ने उनले बताए।
१६५ निर्वाचन क्षेत्र लोकतन्त्र पुनर्स्थापनाका लागि १६५ मोर्चा हो। आधामा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔं। ११० समानुपातिकबाट आधा वामपन्थी र आधा लोकतन्त्रवादी आउने रणनीति बनाऔं,उनले भने

















