Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपति र सभामुखको समन्वयमा मन्त्रिपरिषद् गठन गर्नुपर्छ : विद्या भण्डारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २६ गते


Advertisement

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीले राजीनामा दिएको भए पनि राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै रहेको भन्दै राष्ट्रपति र सभामुखसँगको समन्वयमा अर्को सरकार गठन गर्नुपर्ने बताएकी छिन्।

बिहीबार विज्ञप्ति जारी गर्दै भण्डारीले भनेकी छिन्, ‘प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन्। त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ। यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ।’

संविधानकै मर्म अनुसार निकास निकाल्न समेत उनले सुझाव दिएकी छिन्। ‘नेपाली जनताको त्याग, समर्पण र बलिदानको प्रतीकको रूपमा रहेको यो संविधान एउटा उत्कृष्ट संविधान समेत हो,’ भण्डारीेले भनेकी छिन्, ‘त्यसैले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नु पर्दछ।’

त्यसो गदौ जेनजीको मागलाई पनि गम्भीरतापूर्व ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ। ‘संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ। यसो गरिरहँदा आन्दोलनकारी जेनजी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुऱ्याउनु पर्दछ,’ भण्डारीले भनेकी छिन्।

‘जेनजी’ को उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गर्न नहुने समेत उनको भनाइ छ।

‘म विश्वास गर्दछु, सामाजिक सञ्जाल बन्द गरिँदा निस्सासिएको नेपाली समाजलाई जीवन उत्सर्ग गरेर फेरि स्वतन्त्रताको परिवेशमा फिर्ता ल्याउने ‘जेनजी’ले परिकल्पना गरेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी नै हुनेछ,’ भण्डारीले भनेकी छिन्, ‘यस सन्दर्भमा ‘जेनजी’ को उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन र नागरिक सर्वोच्चतामा चोट पुऱ्याउनु हुँदैन भन्नेमा पुनः जोड दिन चाहन्छु।


प्रतिकृया दिनुहोस्