
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ।
सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका उनीहरूबीच तियान्जिन सहरमा भेट भएको हो।
भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे।
प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक रहेको बताए।
प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे। उनले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरे।
यसअघि प्रधानमन्त्री ओलीले सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका थिए। त्यस्तै तियान्जिनस्थित चाउ एन्लाई स्मृति संग्रहालयको अवलोकन गरेका थिए।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ।
त्यसपछि साँझ ७ बजे रात्रिभोजमा उनी पत्नी राधिका शाक्य र प्रतिनिधिमण्डलका बाँकी ६ सदस्यसहित उपस्थित हुनेछन् ।














