
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक नेपालको भूमि भएको भन्दै चीन र भारतबीच भएको सहमतिबारे आपत्ति जनाएका छन्।
शनिबार चीनको तिन्जियान सहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको द्वीपक्षीय भेटवार्तामा उनले यसबारे कुरा उठाएको चीनस्थित नेपाली दूतावासले जनाएको छ।
‘भारत र चीनबीच हालै लिपुलेक नाकामार्फतको सीमा व्यापारसम्बन्धी भएको समझदारीको सन्दर्भमा प्रधानमन्त्री ओलीले उक्त भूभाग नेपालको भएको स्पष्ट पार्दै नेपाल सरकारले यसबारे कडा आपत्ति दर्ता गरिसकेको जानकारी दिनुभयो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै नेपाल–चीन सम्बन्ध पन्चशीलसिद्धान्तमा आधारित, स्थिर र समस्यामुक्त रहेको उल्लेख गरे।
उनले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ को सफलताको शुभकामना दिंदै नेपाललाई (एससीओ)को को पूर्ण सदस्यता प्राप्तिका लागि चीनको सहयोगको आग्रह गरे।
उनले बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० अन्तर्गतका परियोजनाहरूलाई तीव्र कार्यान्वयनको अपेक्षा गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु प्रतिरोधात्मकता र जनस्तरबीचको सम्पर्क बढाउने क्षेत्रमा चीनको सहयोग आवश्यक रहेको बताए।
राष्ट्रपति सी जिनपिङले नेपाललाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सहयोग गर्ने चीनको प्रतिबद्धता दोहोर्याउँदै संयुक्त राष्ट्रसंघ, एससीओ लगायतका बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने आश्वासन दिए।
उनले ‘वान चाइना प्रिन्सिपल’ प्रति नेपालको दृढ समर्थनको प्रशंसा गर्दै दुवै देशबीच सहमति भएका उच्च गुणस्तरीय बीआरआई परियोजनाहरूलाई शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता बताए ।


















