
काठमाडौं । समाजवादी मोर्चाले भारत र चीनबीच भदौ ३ गते भएको सहमतिको विरोध गर्दै नेपालको भूभाग फिर्ता ल्याउन आह्वान गरेको छ ।
मोर्चाले शुक्रबार एक विज्ञप्तिमार्फत भनेको छ, “नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चा, नेपाल घोर विरोध तथा असहमति प्रकट गर्दछ । साथै, सरकारलाई कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्यतथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न आह्वान गर्दछ ।”
भारत र चीनले भदौ ३ गते नयाँ दिल्लीमा नेपाली भूमि लिपुलेक पासबाट व्यापार पुनः सुचारु गर्ने सहमति गरेका थिए । दुई देशले गरेको सहमतिको चार दल सम्मिलित समाजवादी मोर्चाले विरोध गरेको हो ।
विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले हस्ताक्षर गरेका छन् ।
भारत र चीनबीच हालै पुलान जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भीररूपमा आकर्षित भएको विज्ञप्तिमा जनाइएको छ ।
“ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टि गर्दछ । नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ,” विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा नेपालको तर्फबाट कूटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्न हुन नसकेको मोर्चाले जनाएको छ ।
“यसैबीच लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको छ,” मोर्चाले भनेको छ


















