Skip

Hamro Sanchar

आधारभूत तहका प्रहरी १६ वर्षमै निवृत्त हुने व्यवस्था गर्दैछौँ : गृहमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ५ गते


काठमाडौं। गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीले १६ वर्षमै सेवा निवृत्त हुने गरि कानुन निर्माण गर्न लागिएको बताएका छन्।

नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सव समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन यथाशिघ्र जारी गरिने प्रतिवद्धता व्यक्त गरे।

‘प्रहरी सम्बन्धी कानुनको नयाँ मस्यौदामा आधारभूत दर्जाका प्रहरीको २० वर्षमा निवृत्त हुने व्यवस्थालाई अब चार वर्ष घटाएर १६ वर्षमा झारिने छ,’ उनले भने, ‘प्रहरीको कार्यालय सहयोगीदेखि हवल्दारसम्मको तहलाई हामीले आधारभूत तह भनेका छौँ। अब बन्ने कानुनमा यो तहका प्रहरी १६ वर्षमै सेवा निवृत हुनेछन्।’

उनले आधारभूत तहका प्रहरीले १६ वर्षमम्म उभिएर न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म दैनिक ड्युटी गर्ने भएकाले उनीहरूलाई १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था गर्न लागिएको लेखकको भनाई छ।

‘निजामति कर्मचारी कुर्सी-टेबुलमा बसेर जम्मा ५-६ घण्टा काम गर्छन्,’ उनले भने, ‘त्यसरी हिसाब गर्दा आधारभूत तहका प्रहरीले १६ वर्षमै २३-२४ वर्ष काम गरेको देखिन्छ।’

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाती, लिंग र भूगोलको बनाइने र महिलाहरूको आरक्षणलाई थप गरिने पनि बताए ।


प्रतिकृया दिनुहोस्