
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नमुना टोलको रुपमा परिचित हिमालय टोल सुधार समाजको २२औँ स्थापना दिवस सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नं. ९ मा रहेको उक्त टोलले नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा शनिबार स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख कार्कीले समाजले स्थानीय स्तरमा देखाएको सामाजिक सद्भाव, सामूहिक नेतृत्व र निरन्तर प्रगतिप्रति प्रशंसा गरे ।
‘हिमालय टोल सुधार समाजले कागेश्वरी मनोहरा नगरपालिकाभित्र उदाहरणीय रुपमा भूमिका निर्वाह गरिरहेको छ । समाजको अनुशासन, समर्पण र समुदायप्रतिको निष्ठा साँच्चिकै सिक्न लायक छ’, मेयर कार्कीले बताए ।
उनले भने, ‘हिमालय टोलले जुन प्रतिबद्धताका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको छ, त्यो स्थानीय सरकार र अन्य टोल विकास संस्थाहरूका लागि प्रेरणाको स्रोत हो । यस्ता संस्थाहरू नै समृद्ध नगरको आधारस्तम्भ हुन् । नगरपालिकाले यस्ता सामाजिक संस्था र पहललाई सधैँ साथ दिनेछ ।’
कार्यक्रममा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, वडा नं. ९ का अध्यक्ष अनिल थापा, वडा नं. ७ का अध्यक्ष भीमसेन थापा विशिष्ट अतिथिका रुपमा सहभागी रहेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष गया प्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो । स्थापना दिवसकै अवसरमा बिहान कलश यात्रा र पूजा आजबाट सुरु भई तीजको दरसहित प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू र समाजको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो ।


















