Skip

Hamro Sanchar

मन्त्री यादवको दाबी : अब काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ७ गते


काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने दाबी गरेका छन् ।

आज बूढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौं उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अब वर्षा र हिउँदका कुनै पनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने भन्दै मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने बताए । ‘काठमाडौँवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा खानेपानी ट्याङ्की निर्माण गरी परीक्षण कार्यपनि सफल भएको छ । अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छ’, उनले भने ।

विगतका वर्षमा माघ महिनामा मात्रै काठमाडौँमा मेलम्चीको पानी आउने गरेको भए पनि अहिले असोज महिनामै पानी ल्याउन सफल भएको उनले बताए ।

मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिसत नागरिकलाई स्वच्छ र दिगो खानेपानी सेवाको पहुँच पुर्‍याउन आवश्यक रणनीति बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताए ।

मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको विकल्प मेलम्ची नै भएको बताए ।

काठमाडौँ उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास जारी राखिएको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्