Skip

Hamro Sanchar

राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार : रास्वपाले बेल घेर्याे तर रोकिएन बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बहिष्कार हो ।

संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किएका हुन् ।

आज बैठक सुरु हुनेबित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको थियो । तर, सभामुख देवराज घिमिरेले विरोधकै बीच कारबाही अघि बढाएपछि राप्रपाका सांसद बाहिर निस्किएका हुन् ।

राप्रपाका सांसदहरू आइतबार पनि विरोध गर्दै बाहिर निस्किएका थिए । त्यसैले उनीहरुले भत्ता पनि नलिने घोषणा गरेका छन् ।

राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन् ।

यस्तै विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा र राप्रपाले संसदमा अवरोध गरेका हुन् । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै बजेटमाथिको छलफल अघि बढाएपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिएका थिए ।

लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरेका थिए । यदि बैठक सन्चालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए । लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । परियारले पनि बैठक जबर्जस्ती सन्चालन नगर्न माग गरे ।

तर सभामुख रोकिएनन् । उनले बजेटमाथिको छलफलका लागि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका छन्  ।

 

 


प्रतिकृया दिनुहोस्