Hamro Sanchar

विपद् व्यवस्थापनको पूर्व तयारी गर्दै कागेश्वरी मनोहरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ३० गते


काठमाडौं, जेठ ३०- मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण तथा राहत र उद्धार जस्ता कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न कागेश्वरी मनोहरा नगरपालिकाले सरोकारवाला निकायसँग छलफलसँगै सुझाव संकलन गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यसबर्षको मनसुन अवधिमा सरदरभन्दा ३० प्रतिशत बढी वर्षा हुने प्रक्षेपण गरेसँगै नगरपालिकाले मनसुन अवधिमा आईपर्ने विपत्ति न्यूनीकरण गर्न र त्यस्ता घटनाहरुलाई व्यवस्थापन गर्न पुर्व तयारी थालेको हो ।

नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीहरु, नागरिक समाज, रेडक्रस, नगरप्रहरीलगायतको सहभागीतामा बसेको १०औं विपद् व्यवस्थापन समितिको बैठकले विपदको पूर्व तयारी, राहत र समन्वयबारे छलफल भएको हो ।

छलफलमा नगरप्रमुख कार्कीसहित उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, ९ वटै वडाका अध्यक्षहरु, सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठ, सशस्त्र प्रहरी बल २२ नम्बर गण भक्तपुरका गणपती जनक सापकोटा, प्रहरी प्रभाग काँडाघारी, साँखु, थली, प्रहरी बिट मुलपानी, गागलफेदी प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

छलफलमा प्रमुख कार्कीले नागरिक सचेतना अभिवृद्धिसँगै स्वयंसेवी समूहहरुको दक्षता तथा सीपको स्तरोन्नति, स्रोत तथा सामाग्रीहरुको प्रबन्ध, तिनको उपयोग, एकीकृत सूचना प्रणालीको आवश्यकता र त्यस सम्बन्धमा नगरबाट भैरहेका प्रयासहरु र अन्तर्राष्ट्रिय अभ्यास बारे जानकारी गराउँदै नगरमा सम्भावित विपद् न्यूनीकरणमा सबैको साथ सहयोगको आवश्यकता औंल्याउनुभयो । उहाँले बाढी, पहिरो, डुबान, सडक अवरोध जस्ता सम्भावित घटनाका लागि आफुहरुसँग भएका साधनहरु तयारी अवस्थामा राखिएको साथै नगरप्रहरीलाई आवश्यक निर्देशन पनि दिइएको बताउनुभयो ।

उहाँकाअनुसार नगरपालिकामा दमकल खरिदको प्रक्रिया अघि बढेको र दमकल नाकामा आइपुगेको जानकारी दिए । उक्त दमकल जो कोहिले पनि आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने उहाँले बताउनुभयो ।

यसैगरी, उपप्रमुख थापाले विपद्को तयारीमा सबैको साथ, सहयोग र समन्वय आवश्यक भएको बताउँदै अरुको जिम्मेवारी भनेर पन्छिन नहुने धारणा राख्नुभयो । यस्तै, सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले नगरपालिकामा २५ जनाको विपद सूचक समिति तथा बिपत स्वयंसेवक गठन गर्ने जानकारी दिनुभयो । भने सुरक्षा निकायका अधिकारीहरुले पनि विपद्को पूर्व तयारीबारे आफ्ना सल्लाह सुझावहरु राख्दै सहयोगका लागि आफूहरु सधै तयार रहेको बताउनुभयो ।

मौसम विज्ञान विभागले आगामी असोज ४ गतेसम्म ४ महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना देखिएको बताएको छ ।

संसार सबैभन्दा धेरै प्रकृतिक प्रकोप हुने देशहरूको सूचीमा नेपाल २० नम्बरमा पर्दछ भने जलवायु परिवर्तनसँग सम्बन्धित प्रकोपहरूको हिसाबमा चौथो नम्बरमा । या भनौं हामी प्राकृतिक प्रकोपको दृष्टिकोणबाट अत्यन्त जोखिमपूर्ण क्षेत्रमा छौं ।

हरेक वर्ष यस्ता प्रकोपमा परेर सयौं को ज्यान जाने गरेको छ भने अर्बौको सम्पाति गुमाइरहेका छौं ।

पछिल्लो ३० वर्षमा नेपालभर झण्डै ५ हजारमाथि ठूला प्रकोपका घटना भएको तथ्यांक पाइन्छ, ती घटनाहरूमा ज्यान गुमाउने हरूको संख्या १० हजार भन्दा धेरै छन्, त्यस्ता घटनाहरूमा हराइरहेकाहरूको संख्या ९ सयको हाराहारीमा छ । तथ्यांकअनुसार ती प्रकोपहरूमध्ये बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६९% भन्दा धेरै छ । त्यस हिसाबले हेर्दा नेपालमा बर्सेनी ३ सयभन्दा धेरैले ज्यान गुमाई रहेका छन् ।


प्रतिकृया दिनुहोस्