
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौंमा आज मौन प्रदर्शन गर्दैछ ।
रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन हुन लागेको हो । पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने , मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानवीन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव रोहित दाहालले जानकारी दिए ।
राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ ।
गत चैत १५ गते समाचार संकलनका क्रममा काठमाडौंको तिनकुनेमा आगोमा जलेर रजकको मृत्यु भएको थियो ।


















