१० भदौ, काठमाडौं । चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ ।
बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीकाअनुसार जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्काल नजान आग्रह गरिएको छ ।
जोखिमका कारण त्यसतर्फ जान लागेका सवारीलाई नजान भनिएको उहाँको भनाइ छ ।
ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई समेत धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ । सम्भावित बाढी तथा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।
नागढुंगा र भीमढुंगा नाकाबाट ती जिल्लातर्फ जाने चारपाङ्ग्रे निजी सवारीसाधन तथा दुईपाङ्ग्रे सवारीसाधनलाई समेत प्रहरीले रोक लगाएको छ ।
बाढीको बहाव र जोखिमको अवस्था हेरेर सवारी आवागमनबारे थप निर्णय गरिने ट्राफिक प्रहरीले जनाएको छ।































