
काठमाडौं, चैत २७- बुढेसकालको जीवन, एकै ठाउँमा बस्दाबस्दै वाक्क र थकित होइन्छ । हुर्के बढेका छोराछोरी तथा नातिनातिनासँग बारम्बार भेट गर्ने र गफ गर्ने अवसर छैन । यी सबै कुरालाई मनन गरी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-२ ले ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला भ्रमण कार्यक्रम अन्तर्गत ‘एक सय ५० वृद्धवृद्धालाई दुई दिने भ्रमण’ सुरु गरेको छ ।
वडा कार्यालय परिसरबाट बुधबार बिहान (आज)बाट सुरु भएको काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, दोलखाको प्रसिद्ध भीमसेनथान, साथै कालिञ्चोकको तिर्थयात्रा हुँदै भोलि काठमाडौं फर्कने वडा सदस्य महेश्वर श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार भ्रमणका लागि ५ वटा बस प्रयोग गरिएको छ भने एक सय ५० भन्दाबढी जेष्ठनागरिक, अपाङ्ग तथा असहाय नागरिकका रहेका छन् ।
उक्त भ्रमण अवधिभर खाने बस्ने देखि सबै सुबिधा वडा कार्यालयले प्रदान गर्नेछ । नगरपालिकाले उक्त शिर्षकमा बजेट नै छुट्याइ दिएपछि अन्य वडाहरुले जेष्ठ नागरिक भ्रमणको कार्यक्रम गरिरहेका छन् ।
यस्तै भ्रमणमा सहभागी ज्येष्ठ नागरिकहरुले पछिल्लो समय नगरपालिकाले वृद्धवृद्धालाई उचित सम्मान गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनिहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भएकाले निरन्तरता दिन आग्रह गरे ।