
काठमाडौं, चैत २५- अर्कैको नाममा रहेको जग्गा देखाएर ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्कैको जग्गा आफ्नो भनेर ४५ लाख रुपैयाँ बैना बापतको रकम लिएको आरोपमा एक जनालाई पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर बस्ने ४३ वर्षीय रामकुमार चौलागाई छन् । उनले अरूले नै प्लटिङ गरेको जग्गालाई ‘सस्तो छ, घर बनाउन मिल्छ, पछि बेचे पनि राम्रो मूल्य आउँछ’ भनेर पीडितलाई प्रलोभनमा पारेका थिए ।
यसरी पीडितबाट ४५ लाख ५० हजार रुपैयाँ बैना लिएका थिए । मालपोत कार्यालयको अभिलेखमा हेर्दा भने दर्ता समेत नभएको देखिएपछि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले चैत २१ गते पक्राउ पुर्जी लिएको थियो ।
पक्राउ पुर्जी लिएर प्रहरीले चौलागाईलाई सोमबार बिहान गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाएइको छ ।
उनीविरूद्ध विभिन्न प्रहरी कार्यालयहरूमा जम्मा ८ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा बाँकी रहेको एसपी जिसीले बताए । करिब एक करोड ७४ लाख ८५ हजार रुपैयाँ बराबरको बिगो रकम भुक्तान हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।