Hamro Sanchar

रविलाई भैरहवा ल्याइयो : सोमबार कारागार पठाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २२ गते


काठमाडौं  । शुक्रबार राती काठमाण्डौबाट पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई विमानमार्फत आज बिहान भैरहवा ल्याइएको छ ।यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा ल्याइएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।

त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो ।

उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो । आदेशको सूचना समेत नदिई पक्राउ गरिएको र पक्राउ पूर्जी नदिइएको भन्दै रास्वपा नेता कार्यकर्ताले आलोचना गरेका छन् । रुपन्देही प्रहरी हिरासतमा उनलाई राखिनेछ ।

आज र भोलि जिल्ला प्रहरीमा राखिने र सोमबार कार्यालय खुलेपछि प्रकृया पुराएर मात्रै कारागार पठाइने प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्