
काठमाडौं । चैती छठको मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत शुरु गरेका छन्।
पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ।
साँझ नै व्रतालुुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।
श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन्। जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यसपालिको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ।
मधेशको प्राचीन मिथिला क्षेत्रमा वर्षको दुईपटक छठ मनाइन्छ। कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ। यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ।
दुवै छठमा सूर्यदेव र षष्ठीदेवी ९बोलीचालीमा छठीदेवी० को उपासना गरिन्छ । दुवै छठका व्रतविधान समान छन् । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।






























