
काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शरीरमा एक गोली लागेको पाइएको छ ।
त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको हो । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
१५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो । महर्जनको शव परिवारको जिम्मा लगाइएको छ । त्रिवि शिक्षण अस्पतालले शव परिवारको जिम्मा लगाएको हो ।
यस्तै महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ । परिवारले उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो । उनको शवमा बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिए ।