
काठमाडौं । नुहाउने क्रममा खोलामा डुब्दा मकवानपुरमा ३ जना बालकको मृत्यु भएको छ।
आज दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित सिस्नेरी खोलामा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही स्थानका श्यामबहादुर आचार्यका १२ वर्षीय छोरा सुसन आचार्य, १५ वर्षका भान्जाहरू प्रविन घोरासैनी र प्रविस घोरासैनी रहेका छन्।
काभ्रे घर भएका प्रविन र प्रविस दुई दिनअघि मात्रै मामाघर आएका थिए। स्कुल बिदा भएपछि बिदा मनाउन मामाघर आएका उनीहरु मामाको छोरा अर्थात् सुसनसँगै नुहाउनका लागि खोलामा गएका थिए। सोही वडाका वडाध्यक्ष प्रताप भोम्जनका अनुसार प्रविन र प्रविस जुम्ल्याहा दाजुभाइ हुन्।
गत असोजमा आएको बाढीले बनाएको खोलाको खाल्टोमा डुबेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष भोम्जन बताउँछन्।
मृत अवस्थामा फेला परेका बालकहरुको मुचुल्का उठाएर पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ।

















