Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महिलामाथि सबै प्रकारका हिंसा अन्त्य गरौँ : राष्ट्रपति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २४ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोसेढुङ्गा सावित भएको बताएका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिँदै उनले लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने तर्क गरेका छन्।

उनले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसा निर्मूल गर्न थप प्रभावकारी एवं सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी देखिएको बताएका छन्।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन्।


प्रतिकृया दिनुहोस्