Hamro Sanchar

बाँदर आतंकले मेलुङका किसानलाई हैरान, वडा नम्बर-७ ले ड्राेन खरिद गर्‍याे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २२ गते


दोलखा, फागुन २२- बाँदरबाट आतङ्कित किसानहरुलाई राहत प्रदान गर्न दोलखाको मेलुङ गाउँपालिका–७ ले ड्रोन प्रयोग गर्न लागेको छ । वडाले बाँदर धपाउन ड्रोन खरिद गरेको छ ।

बाँदर धपाउन गरेको धेरै प्रयास असफल भएपछि वडा कार्यालयको तीन लाख रुपैयाँ खर्च गरेर ड्रोन खरिद गरेको वडाध्यक्ष नवराज खडकाले जानकारी दिए ।

ड्रोन खरिद गरेर सञ्चालनका लागि सात जनालाई तालिम दिइरहेको उनले बताए । बाँदरलाई तर्साएर धपाउन ड्रोनमार्फत बाघ र बन्दुकको आवाज निस्कने, कडा प्रकाश फ्याँक्ने तथा राति बाँदर, दुम्सी रहेका ठाउँमा साइरन बजाउने लगायतका १० थरी उपाय किसानलाई सिकाइने र स्थलगत अभ्यास गराउने वडा कार्यालयले जनाएको छ ।

यस्तै वडा कार्यालयले बाँदर समातेर परिवार नियोजन गरिदिने योजना पनि अघि सारेको छ ।

यसअघि बाँदरले बाली खाएर सखाप बनाइदिएको भन्दै त्यहाँका कृषकहरूले जुलुस नै निकालेका थिए । उनीहरूले बाँदर आतंक तत्काल नियन्त्रण गर्न माग गर्दै चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

बाँदरकाे उपद्रोका कारण किसानहरूले खेतबारी बाँझै छाडेका छन् ।


प्रतिकृया दिनुहोस्