
झापा, माघ ३०- झापाको बुद्धशान्तिस्थित टिमाई खोला अव्यवस्थित उत्खननले त्यहाका स्थानीय जनता त्रासमा रहेका छन् ।सरकारी मापदण्ड विपरीत खोला दोहन भएको भन्दै वडा नं ४ र ५ का स्थानीय, विभिन्न संघसंस्थाका पदाधिकारी तथा बुद्धिजीवीले मंगलबार खोलामै गएर सचेत गराउदै स्थानीय सरकार तथा सरोकारवालालाई अनुगमन गरि यथासिघ्र रोक्न अनुरोध गरेका छन् ।
मापदण्ड विपरीतको अव्यवस्थित उत्खननले नजिकै रहेको खानेपानीको मुहान जोखिममा रहेको साथै वर्षाको समयमा आसपासका जमिन र वस्तिमा बाढीबाट हुने खतराको मध्यनजर गर्दै जनप्रतिनिधिले सचेतता कार्यक्रम गरि सचेत गराएको हो ।
विगत केही बर्षदेखि नै अव्यवस्थित रुपमा खोलाबाट अत्याधिक गिटि, बालुवा र ढुङ्गा निकासी भईरहेको हुनाले सिचाइ तथा खानेपानीमा समेत दखल पुर्याएको स्थानिय वडा नं ४ का सामाजिक व्यक्तित्व महेश म्याङ्वोले बताए ।
‘यसरी मापदण्ड विपरीत भएको उत्खननले खानेपानीको मुहानमा प्रत्यक्ष असर परेको छ । स्थानीय सरकारले अनुगमन गरि ठेकेदारलाई सचेत गर्नु पर्छ’, सट्टाभर्ना मंगलबारे खानेपानी उपभोक्ता समूहका अध्यक्ष जीवन दहालले भने ।
प्रतिवेदन भन्दा बाहिरको खोला दोहनले मानव वस्ती साथै प्रकृतिमा समेत असर पुग्ने भएकाले निर्देशिका र मापदण्डअनुरूप कार्य गर्न र गराउन स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने जिल्ला वन महासंघ बुद्धशान्तिका अध्यक्ष प्रकाश साम्सुहाङ लिम्बूले बताए ।
अवैध र अव्यवस्थित खोला उत्खनन गर्नु गैरकानुनी हो, यसमा गाउँपालिका, सुरक्षा निकाय सरोकारवालाहरु बेलैमा सचेत नभए भविष्यमा हुन आउने जोखिमले प्रकृति साथै धनजनको ठुलै असर हुन्छ भन्ने पक्का छ ।