Skip

Hamro Sanchar

११औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव : नगरप्रमुख कार्कीको संयोजकत्वमा समिति गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २८ गते


काठमाडौं, माघ २८- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिर परिसरमा  ‘११औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ हुने भएकाे छ । कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

नगर प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष हरिभक्त पुडासैनीले प्रेस विज्ञप्ती जारी गर्दै फागुन ७ गते ११औं पर्यटन महोत्सव हुने जानकारी दिएका हुन् ।

महोत्सव सफल पार्न नगरप्रमुख उपेन्द्र कार्कीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । जसमा सह-संयोजक उप-प्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र सदस्य सचिव र ९ वटै वडाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् ।

महोत्सवमा बढीभन्दा बढी दर्शक र भक्तजनहरु भित्र्याउने लक्ष्य लिइएको छ । नगरले कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सबै सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्ने बताएको छ ।

महोत्सवमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ भने भजन, कीर्तन, विभिन्न साहित्यिक कार्यक्रम एवं झाक्रीहरू प्रस्तुत हुनेछन् ।

कागेश्वरी मन्दिर पशुपतिनाथ मन्दिरबाट पूर्वीउत्तरतर्फ पर्छ । लिच्छवीकालीन गणेश मूर्ति र गुफा पनि यहाँको आकर्षणको केन्द्र हो । यहाँका धार्मिक एवम् पर्यटकीयस्थललाई चिनाउन २०७२ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते महोत्सव आयोजना गर्ने गरिएको छ । चतुःषष्ठी लिंगमध्येको ३४औँ लिंगका रूपमा समेत मानिने कागेश्वरीमा प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमीका दिन भव्य मेला लाग्ने गर्दछ । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा यहाँ कान पतन भएको कथा पुराणमा व्याख्या गरिएको छ ।

लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको कागको मूर्ति निर्माण भएको छ । यो विश्वकै सबैभन्दा ठूलो कागको मूर्ति भएको बताइन्छ । धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण यो स्थल प्राकृतिकरूपमा पनि आकर्षक छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरीबाट उपत्यकाको सुन्दर दृश्य देखिन्छ ।


प्रतिकृया दिनुहोस्