
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् ।
प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
संसदमा विचाराधीण अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन्
प्रचण्डले पनि त्यसै विषयसँगै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।