Skip

Hamro Sanchar

मेलुङ-१ पवटीको रमाइलो चोकमा अस्थायी प्रहरी चौकी स्थापना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १० गते


दोलखा, माघ १०- दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर-१ पवटीको रमाइलो चोकमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।

वडाका स्थानीय समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोग र समन्वयमा बुधबार एक कार्यक्रमकाबीच अस्थायी प्रहरी चौकी स्थापना भएको गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष तामाङको प्रमुख आतिथ्यता तथा जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख शिबराम गेलालको अध्यक्षतामा चौकी उद्घाटन गरिएको हो ।

हाल प्रहरी सहायक निरीक्षक शिवहरी अधिकारीको कमाण्डमा ५ जनाको जनशक्ति खटाईएको भएपनि आवश्यकताअनुसार प्रहरीको संख्या बढ्न सक्ने बताइएको छ ।

पछिल्लो समय वडामा चोरी, डकैति र अनैतिक क्रियाकलाप बढ्न थालेपछि प्रहरी चौकी स्थापनाको कार्य अगाडी बढेको गाउँपालिका अध्यक्ष तामाङको भनाइ छ । प्रहरी चौकी स्थापनासँगै नागरिकमा खुसी थपिएको पनि अध्यक्ष तामाङले बताए । उनले शान्ति सुरक्षा कायम गर्न सहज हुने, आपराधिक क्रियाकलापमा कमी आउनेसमेत विश्वास व्यक्त गरे ।

 

खासगरी गाउँका जेष्ठ नागरिकले सबैभन्दा असुरक्षित महसुस गरेकोले पटक-पटकको प्रयासपछि प्रहरी चौकी गर्न स्थापना गर्न सफल भएको गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष ईश्वर कोईराला, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख युवराज खड्का लगायतले मन्तव्य दिएका थिए ।

उद्घाटन कार्यक्रममा नेपाली सेना गरुडदल गण दोलखाका सेनानी (मेजर) महेन्द्र चन्द, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक युवराज खड्का, वडाध्यक्षहरु, राष्ट्रिय अनुसन्धान प्रमुख धर्मकान्त चौधरी, प्रहरी निरीक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, वडा सदस्यहरु, स्वस्थ्यकर्मीहरुलगायत स्थानीय समुदायको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्