विराटनगर, पुस २०- नेकपा एमालेबाट निस्काश्ति भएपछि नयाँ पार्टी गठनको तयारीमा रहेका नेता भीम रावललाई विराटनगरमा एकीकृत समाजवादी र राजावादीहरुले भव्य स्वागत गरेका छन् । शनिबार विराटनगर पुगेका रावललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका नेता, कार्यकर्ता र राजावादीहरू विमानस्थलमा पुगेका थिए।
नेता रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।
यस्तै, रावललाई स्वागत गर्न सतिस पोख्रेलको समूह पनि विराटनगर पुगेको थियो । उनी राजसंस्था फर्काइनुपर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका छन् । उनी दुर्गा प्रसाईँले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानमा समेत आबद्ध छन् ।
विमानस्थलबाट नेता रावल भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको आयोजकको गाडी चढेर सुनसरी गएका छन् । सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्न रावल सुनसरी आएका हुन् ।
तर, उद्घाटनका लागि आएपनि प्रतियोगिता भने अन्तिम समयमा आएर सरेको छ । प्राविधिक कारण देखाउँदै आयोजकले शुक्रबार साँझ अचानक प्रतियोगिताको उद्घाटन सरेको जनाएको छ ।