Hamro Sanchar

परीक्षा बिग्रिएपछि ३ छात्राले एकैसाथ गरे विष सेवन, एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १६ गते


महोत्तरी, पुस १६- महोत्तरीमा ३ जना विद्यार्थीले एकैसाथ विष सेवन गरेका छन् । बर्दिबास नगरपालिका-१० खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सिरहा धनगढीमाई नगरपालिका-१० घर भएकी १७ वर्षीया रिङ्कु शर्मा, उषा पण्डित र सन्जु यादव विष सेवन गरेका हुन् । जसमध्ये रिङ्कु शर्माको मृत्यु भइसकेको छ ।

यता उषा र सन्जुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा रहेकी शर्मालाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय बर्दिबासले जंगली क्षेत्रबाट उद्धार गरी बर्दिबास अस्पताल पुर्‍याएको थियो । तर उनको बाटोमा मृत्यु भइसकेको बताइएको छ ।

तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा हुन् । शिक्षालयले केही दिनअघि लिएको टेस्ट (परीक्षा)मा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका थिए । जसका कारण उनी मानसिक तनावमा आई विष सेवन गरेको अस्पतालमा उपचाररत सन्जुले बताइन् ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताए ।


प्रतिकृया दिनुहोस्