Skip

Hamro Sanchar

ट्याक्टरमा मोटरसाइकल ठोकिँदा २ जना युवकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १६ गते


सर्लाही । सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

नयाँरोड-मधुवनी सडकखण्ड अन्तर्गत बरहथवा नगरपालिका-९ मूर्तियामा गएराति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम थापाका अनुसार घटना सोमबार राति सवा आठ बजेतिरको हो।

उखु लिएर सर्लाहीकै हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगतर्फ जाँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टरसँग नयाँरोडबाट बरहथवातर्फ जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको उनले जानकारी दिए। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका हरिन्द्रको एडभान्स सञ्जीवनी अस्पताल बरहथवामा मृत्यु भएको हो। त्यसैगरी पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बरहथवामा सामान्य उपचारपछि थप उपचारको लागि उनलाई वीरगन्ज लगिएको थियो। वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनापछि ट्याक्टर चालक बलरा नगरपालिका-७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी थापाले बताए ।


प्रतिकृया दिनुहोस्