Hamro Sanchar

केपी ओली जस्तो नेता नेपालमा अहिलेसम्म जन्मेका छैनन्- आनन्द पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ७ गते


काठमाडौं, पुस ७- नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली जस्तो नेता अहिलेसम्म नेपालमा नजन्मेको बताएका छन् ।

शनिबार बिहान कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा एमालेका स्थानीय नेता बिनय पण्डितको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

पोखरेलले केपी ओली राष्ट्र निर्माण र विकासको नायक भएको पनि बताए । लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर संसद्मा सो विषय भित्र्याउने पहिलो नेता केपी ओली नै भएको र आफ्नै प्रधानमन्त्री कालमा सो भूमि समेटिएको नक्सा प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन गराएको पोखरेलले स्मरण गराए ।

‘उहाँ राष्ट्रलाई नेतृत्व गर्ने नायकका रूपमा स्थापित हुनुभयो’, पोखरेलले भने ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको चुच्चे नक्शा निकाल्न सफल भएको, भारतले नाकाबन्दी गर्दा डटेर सामना गरेको, विआरआइमा सम्झौता गरेको, सांस्कृतिक राष्ट्रवादको प्रवक्ता भएकाले ओली जस्तो नेता नेपालमा अहिलेसम्म नजन्मेको उनको जिकिर थियो ।

एउटा नेता नायकका रूपमा कसरी बदलिन्छ भन्ने कुरा केपी ओलीको जीवनीबाट सिकिने पोखरेलले बताए ।

नेता पोखरेलले दिवंगत विनय पण्डित एमालेको राम्रो स्थानीय नेता भएको बताउदै उनको सपना पुरा गर्न सम्पूर्ण पार्टी र स्थानीय नेता लाग्नु पर्ने बताए । पण्डितका परिवारलाई जस्तोसुकै सहयोग गर्न आफु र पार्टी लाग्ने प्रतिबद्धता जनाए ।

मुटु रोगबाट ग्रसित स्थानीय एमाले नेता पण्डितको मंसिर २४ गते ५० बर्षको उमेरमा निधन भएको थियो । उनको १३औं पुण्यतिथिको अवसर पारेर गोठाटारमा रहेको मदन आश्रित स्मृति प्रतिष्ठानमा ‘मदन आश्रित स्मृति प्रतिष्ठान नेकपा एमाले कागेश्वरी मनोहरा वडा नम्बर-८ वडा कमिटी’ले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

श्रद्धाञ्जली सभामा संबिधानसभा सदस्य रामेश्वर फुयाल, एमाले नेता मणिराम फुयाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलालगायतले बोलेका थिए ।

वडा कमिटी अध्यक्ष रामचन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभालाई मदन आश्रित स्मृति प्रतिष्ठानका सचिव मधु तिमिल्सिनाले संचालन गरेका थिए ।


प्रतिकृया दिनुहोस्